मोबाइल पानीले भिज्यो, अब के गर्ने ?

Mobile wet what now

मोबाइलमा केही गरी बढी ड्यामेज भयो भने यो रिकभर गर्न गार्हो छ। मोबाइल रिकभर गर्न नसकिने गरी ड्यामेज हुने एउटा कारण भनेको पानीले भिज्नु हो। बरु अन्यथा ड्यामेज भयो भने रिकभर गर्न पनि सकिएला तर पानीले ड्यामेज भयो भने यो रिकभर गर्न धेरै गार्हो पर्छ।

हाल स्मार्टफोनको प्रयोग नगर्ने मानिसहरु विरलै होलान्। स्मार्टफोनमा मानिसहरु नशा अहिले यस्तो बसेको छ कि मानिसहरु आफू बाथरुम जाँदा पनि स्मार्टफोन साथै बोकेर हिँडेका हुन्छन्। पानीले भिज्ने बढी सम्भावना बाथरुममा पनि हुन्छ। यसैगरी बाहिर पानी पर्दा कल रिसिभ गरियो भने पनि मोबाइल भिज्ने खतरा हुन्छ।

मोबाइल इलेक्ट्रोनिक्स कम्पोनेन्टहरुले निर्माण भएको हुनाले मोबाइल पानीले भिज्दा यी कम्पोनेन्टहरुमा डाइरेक्ट असर पुग्ला भन्ने डर हुन्छ। हाल स्मार्टफोनहरु पानीले भिज्दा पनि असर नहुने गरी निर्माण हुन थालेका छन् तर यो केवल महँगा डिभाइसहरुमा मात्र सिमित छ।

मोबाइल पानीले भिज्यो भने सामान्य फोनमा के गर्ने त? मोबाइल पानीले भिजिहाल्यो भने केहि सामान्य स्टेपहरु अपनाएर फोन ड्यामेज हुनबाट बचाउन सकिन्छ। यसको लागि निम्नलिखित कार्यहरु गर्नुहोस्।

मोबाइल स्विच अफ गर्नुहोस्

मोबाइल पानीबाट निकालेर पहिलो स्टेप भनेको मोबाइल स्विच अफ गर्नुहोस्। यो सबैभन्दा बेसिक स्टेप हो। जति सक्दो चाँडो मोबाइल स्विच अफ गर्न सकियो त्यति नै मोबाइलको इन्टर्नल सिस्टम ड्यामेज हुन सक्छ। 

मोबाइल अन छँदा पानी भित्र पस्यो भने यसले इलेक्ट्रोनिक्स कम्पोनेन्टमा सर्ट सर्किटको स्थिति सिर्जना गर्न सक्छ तर मोबाइल स्विच अफ गरियो भने यसले मोबाइलको सबै कम्पोनेन्टलाई अफ गर्छ जस कारण सर्ट सर्किटको सम्भावना धेरै कम हुन्छ।

मोबाइलबाट निकाल्न सकिने कुराहरु निकाल्नुहोस्

मोबाइल स्विच अफ गरिसकेपछि मोबाइलबाट निकाल्न सकिने कुराहरु निकाल्नुहोस्। यसमा मोबाइलको ब्याक केस, ब्याट्रि, सिम कार्ड, मेमोरी कार्ड आदि पर्दछन्।

प्राय अहिलेका फोनहरुमा ब्याट्रि र ब्याक कभर हटाउन नसकिने हुँदा यसमा तपाईँहरु सिम कार्ड र मेमोरी कार्डमा मात्र सिमित हुन सक्नुहुन्छ। पुरानो मोबाइल छ भने पछाडिको कभर र ब्याट्रि पनि हटाउन सकिन्छ।

मोबाइललाई ड्राइ गर्नुहोस्

अबको स्टेप भनेको मोबाइल फोनलाई सुख्खा पार्नु हो। मोबाइललाई हल्कासँग हल्लाउनुहोस्। यसले गर्दा मोबाइलको पोर्टहरु भित्र पानी छिरेको छ भने निक्लिन सक्छ

केही सुखा सोस्ने सक्ने कपडाले सिम ट्रे, ब्ताट्रि, ब्याट्रि केस, कभर, मोबाइलको पोर्ट र मोबाइलको बाहिरी भाग राम्ररी सफा गरी ड्राइ गर्नुहोस्। 

टेस्टिङको अनुसार सुख्खा हावाले सुकाउने तरिका सबैभन्दा राम्रो तरिका मध्येमा एक हो। अर्को तरिका भनेको सिलिका जेलको प्रयोग गर्नु हो। सिलिका जेललाई एउटा राम्रो पानी सोस्ने एजन्टको रुपमा लिइन्छ। सिलिका जेलको ४-५ वटा प्याकेट र मोबाइललाई एउटा हावा नछिर्ने कन्टेनरमा हालेर बन्द गर्नुहोस्। यो कन्टेनर कुनै बट्टा पनि हुन सक्छ या जिप लगाउन मिल्ने प्लास्टिक ब्याग पनि हुन सक्छ। 

अर्को तरिका भनेको मोबाइललाई पानी सोस्ने कपडाले पातलो गरी छोपी यसमाथि भ्याक्युम पनि प्रयोग गर्न सक्नुहुन्छ। यसमा मोजाले पनि काम गर्न सक्छ।  

अन्य टेक्निकहरु अपनाउन सक्ने अवस्थामा हुनुहुन्न भने मोबाइल फोनलाई चामलमा पुर्न पनि सक्नुहुन्छ। तर अन्य टेक्निकहरु जति यसलाई प्रभावकारी ठाँनिदैन।

मोबाइललाई केही बेर नचलाउनुहोस्

सुन्दा सजिलो भए तापनि यो एउटा पछ्याउन अप्ठ्यारो स्टेप हुन सक्छ। मानिसहरुको फोन नचलाई नबस्न सक्ने बानीले यसलाई अप्ठ्यारो बनाउन सक्छ। 

यस स्टेपमा पनि निकै प्रश्नहरु उठेका छन्। मोबाइल चाँडो खोल्न प्रयास गरियो भने भित्र अड्केको पानीले सर्ट सर्किटको अवस्था सिर्जना हुन सक्छ भने अर्को तिर धेरै बेर फोन नचलाउनुको खासै मान्यता छैन भन्ने भनाइहरु पनि उत्तिकै छन्।

यो होला या नहोला भन्न सकिन्न तर सुरक्षित हुन यसो गर्नु नै उचित ठानिन्छ। यसको लागि २ दिन अर्थात ४८ घन्टा जति मोबाइल फोन नखोलेको राम्रो मानिन्छ। 

मोबाइल स्विच अन गर्नुहोस्

यति सबै स्टेपहरु गरिसक्नुभयो भने अन्तिम स्टेप भमेको मोबाइल खोल्नु हो। निकाल्नु भएका सबै पार्टहरुलाई फेरि उनीहरुको आफ्नै ठाउँमा राखी मोबाइल स्विच अन गर्नुहोस्। मोबाइलले काम गरेपनि या नगरेपनि तपाईंहरुले गर्न मिल्ने स्टेपहरु यति नै हुन्।

के नगर्ने?

मोबाइल पानीले भिजेपछि सुकाउने क्रममा केही कुराहरु यस्ता छन् जुन नगरेको बेस हुन्छ। यी कुराहरुले मोबाइललाई अझै ड्यामेज गर्छन् भन्ने जोखिम रहन्छ। 

पानीले मोबाइल भिजेको छ भने निम्नलिखित कुराहरु नगर्नुहोला।

१) फोनमा झुक्किएर पनि मुखले नफुक्नु होला। भित्र पानी छ भने यसले झन् भित्र छिराउँछ भन्ने खतरा हुन्छ।

२) फोन तताउँदा भित्र भएको पानी झन् चाँडो स्वच्छ भनेर माइक्रोवेभ भित्र नराख्नुहोला। यसले झन् फोनले आगो टिप्छ भन्ने खतरा रहन्छ।

३) तातो हावाको प्रयोग नगर्नु होला। यसमा ब्लो ड्रायर र हेयर ड्रायर पर्दछन्। यी बाहेक अन्य तातो हावा निकाल्ने कुराको प्रयोग नगर्नुहोला।

अन्त्यमा,

मोबाइल छिटो ड्यामेज पार्ने कुराहरुमा मोबाइल पानीले भिज्नु प्रमुख कारण मध्ये एक हुनुको साथै धेरै भइरहने कुरा पनि हो। त्यसैले माथि उल्लेखित स्टेपहरु धेरै प्रयोग गरिने स्टेपहरु हुन्।

यी स्टेपहरु अपनाउँदैमा मोबाइल फेरि चल्छ भन्ने ग्यारेन्टी पू्र्ण रुपमा छैन। त्यसैले सबैभन्दा खराब स्थितिको लागि तयार भइरहनु पर्छ। मोबाइल पानीले भिज्नु र बनाउन तिर लाग्नु भन्दा मोबाइल भिज्ने स्थिति सिर्जना हुन नदिन अगाडिबाटै सतर्क रहन सकियो भने यो सबैभन्दा राम्रो कुरा हुन्छ। 

टिप्पणी गर्नुहोस्