लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

lumbini as a it hub strategy

बुटवल | असार २०८३

लुम्बिनी प्रदेशलाई सुरक्षित, समृद्ध र आधुनिक क्षेत्रीय सूचना प्रविधि (IT Hub) केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित ‘डिजिटल लुम्बिनी: बहुसरोकारवाला परामर्श’ कार्यक्रम तिलोत्तमा नगरपालिका–शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना क्यान महासंघ लुम्बिनी प्रदेशक्यान महासंघ रुपन्देही शाखाले संयुक्त रूपमा गरेका हुन् भने सीएसआईटी एशोसिएशन अफ नेपाल (CSITAN) रुपन्देही च्याप्टरले सहकार्य गरेको थियो।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञ, उद्योगी, शैक्षिक क्षेत्रका प्रतिनिधि, सरकारी निकाय तथा युवा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीतिगत म्यान्डेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।


‘डिजिटल लुम्बिनी’ अवधारणा सार्वजनिक

कार्यक्रमको मुख्य आकर्षण क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा सूचना प्रविधि क्षेत्रका नेतृत्वकर्ता चिरन्जीवी अधिकारीद्वारा तयार पारिएको “Digital Lumbini” Conceptual Framework को सार्वजनिक प्रस्तुति थियो।

उक्त गुरुयोजनाले काठमाडौं–बुटवल डिजिटल कोरिडोर तथा बुटवल–दाङ–नेपालगन्ज डिजिटल लिंकलाई जोड्ने Dual-Engine Strategy प्रस्ताव गरेको छ।

गुरुयोजनाले निम्न क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छः

  • आर्टिफिसियल इन्टेलिजेन्स (AI)
  • पेपरलेस सुशासन
  • डिजिटल स्वास्थ्य सेवा
  • स्मार्ट शिक्षा
  • स्वचालित तथा स्मार्ट यातायात प्रणाली
  • क्षेत्रीय डिजिटल पूर्वाधार विस्तार

लुम्बिनी सिटी कलेजको समर्थन

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै लुम्बिनी सिटी कलेजका कार्यवाहक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले ‘डिजिटल लुम्बिनी’ अवधारणालाई प्रदेशको सूचना प्रविधि विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले कलेजले यस दूरदर्शी योजनाको पूर्ण समर्थन गर्दै प्रदेशको डिजिटल रूपान्तरणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो।


क्यान महासंघको प्रतिबद्धता

कार्यक्रमको सभापतित्व गर्नुभएका क्यान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नारायण खनालले ‘डिजिटल लुम्बिनी’ जस्तो दूरदर्शी अवधारणा प्रदेशका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो।

उहाँले कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीद्वारा अघि सारिएको यस अवधारणालाई व्यवहारमा उतार्न क्यान महासंघ पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।


युवा सशक्तिकरण र उद्योग-अनुकूल शिक्षा आवश्यक

कार्यक्रममा बोल्दै सीएसआईटी एशोसिएशन अफ नेपाल (CSITAN) रुपन्देही च्याप्टरका अध्यक्ष कल्पित नेपालले स्थानीय स्तरमै सूचना प्रविधि परियोजनाका लागि लगानी तथा सीप विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले विश्वविद्यालय तथा कलेजहरूमा उद्योग-अनुकूल (Industry-Friendly) पाठ्यक्रम विकास गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, क्यान महासंघ रुपन्देही शाखाका अध्यक्ष जीवन अधिकारीले सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत युवा सशक्तिकरण र समग्र राष्ट्रिय विकास सम्भव हुने बताउनुभयो।


‘ब्रेन ड्रेन रोक्न नीतिगत सुधार आवश्यक’

लुम्बिनी टेक इनोभेसन सेन्टर (LTIC) का संस्थापक अध्यक्ष धन बहादुर रानाले नेपालबाट बढ्दो युवा प्रतिभा पलायन (Brain Drain) रोक्न ठोस नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो,

“हामीले प्रगतिशील स्टार्टअप कानुनहरू ल्याएर नीतिगत खाडलहरू पुर्नुपर्छ। स्थानीय स्तरमै प्रविधि हबहरू निर्माण गर्ने, बीउ पूँजी (Seed Funding) उपलब्ध गराउने र ‘Made in Nepal’ सफ्टवेयर इकोसिस्टमलाई प्रवर्द्धन गरेर मात्र नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्न र प्रतिभा पलायन रोक्न सकिन्छ।”


डिजिटल लुम्बिनीको लक्ष्य

कार्यक्रममा प्रस्तुत अवधारणाअनुसार ‘डिजिटल लुम्बिनी’ ले लुम्बिनी प्रदेशलाई आगामी वर्षहरूमा दक्षिण एशियाकै प्रतिस्पर्धी क्षेत्रीय आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको छ।

यसका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, प्रविधि उद्योग र युवा उद्यमीबीच सहकार्यलाई थप मजबुत बनाउँदै डिजिटल अर्थतन्त्र, नवप्रवर्तन (Innovation) तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिने जनाइएको छ.

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.