
काठमाडौं
नेपालको सञ्चार क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र महिला आर्थिक पत्रकार संघ (फेजा) को संयुक्त आयोजनामा ‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुने भएको छ।
कार्यशाला २०२६ जुलाई २६ (साउन १०, २०८३) मा बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन हुनेछ। पत्रकारिता, डिजिटल सञ्चार र आधुनिक न्युजरुममा एआईको प्रयोगबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
क्यान महासंघ र फेजाबीच रणनीतिक सहकार्य
क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारी को नेतृत्वमा सुरु गरिएको यस पहललाई मूर्त रूप दिन हालै दुई संस्थाबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
सम्झौतामा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, फेजाका अध्यक्ष शर्मिला ठकुरी, कार्यक्रमका एआई पार्टनर सनवे कलेज काठमाडौं का निर्देशक सिमोली देसाई, तथा टेक ब्लगर्स एशोसिएशन अफ नेपाल (TBAN) का अध्यक्ष सन्तोष ढुङ्गाना ले हस्ताक्षर गर्नुभएको छ।
महिला पत्रकारको सशक्तीकरणमा जोड
फेजाका अध्यक्ष शर्मिला ठकुरी ले डिजिटल युगमा पत्रकारहरू प्राविधिक रूपमा सक्षम हुनुपर्ने आवश्यकता औंल्याउँदै, विशेषगरी महिला पत्रकारका लागि यो कार्यशाला अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार एआईको सही प्रयोगले पत्रकारिताको गुणस्तर सुधार्नुका साथै डिजिटल सञ्चार क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ।
न्युजरुममा एआईको प्रभावकारी प्रयोग
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी ले आधुनिक पत्रकारितामा एआईको भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको बताउनुभयो।
उहाँले फेजासँगको रणनीतिक सहकार्यमार्फत पत्रकारहरूलाई न्युजरुममा एआई उपकरणहरूको प्रभावकारी प्रयोग, वित्तीय तथा डेटा सम्बन्धी ठगीको पहिचान, साथै मिसइन्फर्मेसन (Misinformation), डिसइन्फर्मेसन (Disinformation) र फेक न्युज (Fake News) विरुद्ध जिम्मेवार रूपमा एआई प्रयोग गर्ने सीप प्रदान गरिने जानकारी दिनुभयो।
क्षेत्रगत विज्ञहरूद्वारा प्रशिक्षण
दुई घण्टे सघन कार्यशालामा सूचना प्रविधि र सञ्चार क्षेत्रका अनुभवी विज्ञहरूले प्रशिक्षण प्रदान गर्नेछन्।
रितेश घिमिरे (मुख्य प्रशिक्षक)
टेक ब्लगर्स एशोसिएशन अफ नेपाल (TBAN) का संस्थापक तथा मेन्टर रितेश घिमिरे कान्तिपुर मिडिया ग्रुपअन्तर्गत कान्तिपुर नियो का प्रमुख प्राविधिक अधिकृत (CTO) हुनुहुन्छ।
उहाँसँग सञ्चार प्रविधि (Media Technology) क्षेत्रमा एक दशकभन्दा बढी अनुभव रहेको छ। स्केलेबल डिजिटल न्युज प्लेटफर्म, एआई–सञ्चालित न्युजरुम समाधान तथा उच्च प्रदर्शन गर्ने कन्टेन्ट डेलिभरी प्रणाली निर्माणमा उहाँ विशेषज्ञ मानिनुहुन्छ।
प्रविज्ञा आचार्य (सह-प्रशिक्षक)
सनवे कलेज काठमाडौं की एआई रिसर्च को-अर्डिनेटर प्रविज्ञा आचार्य ले कार्यशालामा एआई अनुसन्धान, व्यावहारिक प्रयोग तथा पत्रकारितामा यसको सम्भावनाबारे प्रशिक्षण दिनुहुनेछ।
कार्यशालामा समेटिने प्रमुख विषयहरू
कार्यशाला पत्रकार, डिजिटल मार्केटर, कन्टेन्ट क्रिएटर तथा मिडिया संस्थामा कार्यरत पेशाकर्मीहरूलाई लक्षित गरी तयार गरिएको हो। कार्यक्रममा निम्न विषयहरू समेटिनेछन्:
- सञ्चार माध्यममा एआईको आधारभूत अवधारणा (Foundations of AI in Media)
- एआई–सहायता प्राप्त समाचार संकलन तथा अनुसन्धान (AI-Assisted News Gathering)
- डेटा जर्नलिज्म र स्वचालित सामग्री निर्माण (Automated Content Creation)
- न्युजरुम र सम्पादकीय कार्यका लागि उपयोगी एआई टूल्स
- दर्शक सहभागिता र व्यक्तिगत सामग्री सिफारिस (Audience Engagement & Personalization)
- न्युजरुमका लागि एआई–आधारित टूल्सको परीक्षण तथा विकास (Product Development)
- एआई प्रयोग गरेर द्रुत तथा गुणस्तरीय भिडियो सम्पादन (AI in Video Editing)
- दैनिक पत्रकारितामा प्रयोग गर्न सकिने व्यावहारिक एआई सीपहरू
नेपाली पत्रकारितामा एआईको नयाँ आयाम
आयोजकका अनुसार यो कार्यशालाले नेपाली पत्रकारिता क्षेत्रलाई प्रविधिमैत्री, विश्वसनीय र भविष्य–उन्मुख बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
न्युजरुममा एआईको जिम्मेवार र प्रभावकारी प्रयोग, तथ्य–परीक्षण (Fact-checking), भ्रामक सूचना नियन्त्रण तथा गुणस्तरीय समाचार उत्पादनमा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम कोशेढुङ्गा साबित हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
