
त्यस्तो परिस्थिति कहिलेकाहीँ आइपर्छ जब हामी कुनै फोटो खिच्छौँ, आफ्नै वा अरूको वा जेसुकैको, तर त्यसको ब्याकग्राउण्ड चाहीँ राम्रो हुँदैन वा आपत्तिजनक हुन्छ वा जेसुकै कारणले त्यस्तो ब्याकग्राउण्ड तपाईँ हटाउन चाहनुहुन्छ । तर तपाईँलाई त्यसको आइडीया नहुन सक्छ ।
धन्दा नमान्नुस् । हामी तपाईँलाई त्यस्तो ब्याकग्राउण्ड सजिलै हटाउन सकिने एपहरूको बारेमा यहाँ केही चर्चा गर्दैछौँ जुन प्रयोग गर्न पैसा पर्दैन ।
फोटोर (Fotor)
फोटोर एपले तपाईँको फोटोको ब्याकग्राउण्ड हटाउने, स्टिकर हाल्ने, आफ्नै छुट्टै फोटो सिर्जना गर्ने जस्ता कामहरू निकै सजिलै गर्छ । त्यति मात्र हैन, यसले एआइको प्रयोग गरेर स्वचालित तरिकाले ठ्याक्कै ब्याकग्राउण्ड मात्र हटाउन सक्छ ।
यसको प्रभावशाली एआइ ब्याकग्राउण्ड ईरेजरले फोटोमा भएको मान्छे वा जनावर वा कुनै वस्तु स्वत: थाहा पाउँछ र आफै सजिलै हटाइदिन्छ । तपाईँले कुनै दुख गरिरहनु नै पर्दैन ।
त्यसको साथै यसको एआइ प्रविधिले मान्छेको कपालको रौँ, जनावरको रौँ जस्ता स-साना कुराहरू समेत सहजै खुट्याउन सक्छ र तपाईँले चाहे जसरी नै ब्याकग्राउण्ड हटाइदिन्छ जसले तपाईँको समय र उर्जा बचाइदिन्छ ।
ब्याकग्राउण्ड ईरेजर (Background Eraser)
यो पनि एआइ प्रविधिमै आधारीत छ र त्यसको बटनमा थिच्नासाथ तपाईँको फोटोको ब्याकग्राउण्ड आफै हट्छ । यो चलाउन ज्यादै सजिलो छ । यसमा फोटोको ब्याकग्राउण्ड हटाउन, परिवर्तन गर्न र यसको फ्रेम अझै राम्रो पार्न धेरै नै सजिलो छ ।
यसको एआइ प्रविधिले जुनसुकै फोटोको ब्याकग्राउण्ड सजिलै खुट्याउन र हटाउन सक्छ । अनि यसको म्याजिक अटो मोडको प्रयोग गरेर जस्तोसुकै ब्याकग्राउण्ड पनि निकै चाँडै हटाउन सकिन्छ ।
रीमुभ डट बिजि (Remove.bg)
निकै चाँडै ब्याकग्राउण्ड हटाइदिने यो अर्को फ्री एप हो जुन पनि पछिल्लो एआइ टेक्नोलोजीमै आधारित रहेर बनेको हो । तपाईँको फोटोको ब्याकग्राउण्ड जतिसुकै राम्रो होस् वा जे होस् , यसको एआइ प्रविधिले क्षणभरमै त्यसलाई हटाइदिन सक्छ ।
अरूभन्दा अलि चाँडो काम गर्ने यसले ब्याकग्राउण्ड हटाएको फोटोको क्वालिटि साह्रै राम्रो हुन्छ । यसको एआइले पनि रौँ जस्ता स-साना कुराहरू पनि खुट्याउन सक्छ ।
कट कट (Cut Cut)
ब्याकग्राउण्ड हटाउने अर्को चर्चित एप हो कटकट । यसले एआइ अटो सेलेक्शन टूल जस्तो स्मार्ट टूल प्रदान गर्छ जसमार्फत् प्रयोगकर्ताले स्वत: ब्याकग्राउण्ड हटाउन सक्छन् ।
त्यो त भैहाल्यो, यसमा तपाईँले म्यान्वल्ली आफैले के-के र कति हटाउने भन्ने निर्णय आफै गर्न सक्नुहुन्छ । यद्यपि कतिपयले यो अलि ढिलो चल्ने गुनासो गर्ने गरेका छन् ।
फोटोरूम (PhotoRoom)
यो अर्को त्यस्तो एप हो जसको एआइ प्रविधिले तपाईँलाई निकै सजिलै र चाँडै ब्याकग्राउण्ड हटाउन सहयोग गर्छ । फोटोको मूख्य पात्र ठ्याक्क ठम्याएर ठ्याक्क ब्याकग्राउण्ड हटाउन सक्ने यो एपले सबै खालका इमेज डाइमेन्शन र एस्पेक्ट रेशियो सपोर्ट गर्छ ।
प्राय: सबै डिभाइसमा चल्ने यो एपमार्फत् तपाईँले आफूलाई मन परेको सामाजिक सञ्जालमा शेयर गर्न सक्नुहुन्छ । यद्यपि यसमा कहिलेकाहीँ नचल्ने समस्या छ भने विज्ञापनहरू टन्नै आउँछ ।