Apple को September 9 event पक्का भयो, तर iPhone 18 भने आउँदैन

apple september 9 event iphone 18

Pro, Pro Max र Apple को पहिलो foldable फोन आउने अपेक्षा छ। सामान्य iPhone 18 कुर्नेहरूले भने 2027 सम्म पर्खनुपर्ने रिपोर्टहरू आएका छन्।

Apple ले यसपालिको iPhone event को मिति आधिकारिक रूपमा तय गरिसकेको छ — बुधबार, September 9, Cupertino स्थित Apple Park मा, Pacific समयअनुसार बिहान 10 बजे। नेपालको समयमा त्यो त्यही दिन राति 10:45 बजे पर्छ। Event को नाम कम्पनीले “Surprise and shine” राखेको छ।

यो keynote अर्को कारणले पनि सामान्य छैन। September 1 मा John Ternus ले Tim Cook बाट Apple को CEO जिम्मेवारी सम्हालेका हुन्, र यो उनको नेतृत्वको पहिलो ठूलो product event हो।

तर यहाँनेर एउटा कुरा सुरुमै भन्नैपर्छ। तपाईं iPhone 18 कुरेर बस्नुभएको छ भने यसपालि निराश हुनुहुनेछ।

iPhone 18 यो सेप्टेम्बरमा आउँदैन

Bloomberg का Mark Gurman, MacRumors, Nikkei Asia लगायत भरपर्दा स्रोतहरूका अनुसार Apple ले यसपटक आफ्नो iPhone लाइन दुई भागमा छुट्याएको छ। सेप्टेम्बरमा महँगा मोडेल मात्र — iPhone 18 Pro, iPhone 18 Pro Max र लामो समयदेखि चर्चामा रहेको foldable iPhone। सामान्य iPhone 18, सस्तो 18e र दोस्रो पुस्ताको iPhone Air चाहिँ 2027 को वसन्त, अर्थात् मार्च–अप्रिलतिर आउने रिपोर्ट छ।

Apple ले यो योजना आफैँ पुष्टि गरेको छैन। तर एउटै कुरा धेरै स्वतन्त्र स्रोतबाट पटक-पटक दोहोरिएपछि यसलाई हल्का अफवाह भन्न मिल्दैन। रिपोर्टहरू सही हुन् भने iPhone को इतिहासमा base मोडेल Pro भन्दा करिब छ महिना पछाडि धकेलिएको यो पहिलो पटक हुनेछ।

नेपाली खरिदकर्ताका लागि यसको अर्थ सोझो छ। यो शरदमा आधिकारिक च्यानलबाट नयाँ iPhone किन्नुभयो भने सबैभन्दा सस्तो विकल्प पनि Pro नै हुनेछ। बीचको बाटो यसपालि छैन।

Pro मोडेलमा के फेरिन्छ

लिकहरू अनुसार सबैभन्दा ठूलो परिवर्तन भित्र छ — TSMC को 2nm प्रक्रियामा बनेको नयाँ A20 Pro चिप। Dynamic Island अघिल्लो पुस्ताभन्दा साँघुरो हुने, Camera Control बटन सरल बनाइने र Dark Cherry नामक नयाँ रङ आउने चर्चा छ।

क्यामेरामा सबैभन्दा चाखलाग्दो कुरा variable aperture हो। सफ्टवेयरले बनाउने नक्कली bokeh होइन, भौतिक रूपमै खुल्ने र बन्द हुने aperture। तर MacRumors को रिपोर्ट अनुसार यो सुविधा Pro Max मा मात्र सीमित हुन सक्छ।

बाँकी कुरा भने iPhone 17 Pro सँग मिल्दोजुल्दो नै हुने अपेक्षा छ। यसलाई ठूलो redesign होइन, spec bump भन्नु उपयुक्त हुन्छ।

मूल्य बढ्ने कुरा लगभग निश्चित छ

यसपालिको कथाको केन्द्रमा RAM छ। AI डाटा सेन्टरहरूको माग बढेपछि DRAM र NAND को मूल्य आकाशिएको छ, र त्यसको भार सिधै फोनमा आइपुगेको छ।

TrendForce को विश्लेषण अनुसार 256GB iPhone 18 Pro को कच्चा पार्ट्स लागत अघिल्लो पुस्ताभन्दा करिब 38% बढी छ। एक वर्षअघि एउटा Pro iPhone को कुल लागतमा memory को हिस्सा करिब 10% थियो; अहिले त्यो करिब 34% पुगेको छ। Tim Cook ले आफ्नो कार्यकालको अन्त्यतिर memory को मूल्य वृद्धिलाई सय वर्षमा एकपटक आउने बाढीसँग तुलना गरेका थिए।

अहिले iPhone 17 Pro को 256GB भेरियन्ट अमेरिकामा 1,099 डलरबाट सुरु हुन्छ। Counterpoint Research लगायतका विश्लेषकहरूले नयाँ Pro त्योभन्दा 200 देखि 300 डलरसम्म महँगो हुन सक्ने अनुमान गरेका छन्, र केही रिपोर्टले 1,299 देखि 1,369 डलरको सुरुवाती मूल्य आँकलन गरेका छन्। यी सबै अनुमान मात्र हुन्। Apple ले कुनै मूल्य घोषणा गरेको छैन, र September 9 अघि गर्ने पनि छैन।

Foldable iPhone: सबैभन्दा ठूलो प्रश्न

2017 को iPhone X पछि Apple ले ल्याउन लागेको पहिलो नयाँ form factor यही हो। रिपोर्टहरूले यसको नाम iPhone Ultra हुन सक्ने बताएका छन्।

Book-style डिजाइन, खोल्दा करिब 7.7 देखि 7.8 इन्चको भित्री डिस्प्ले र बन्द गर्दा 5.3 देखि 5.5 इन्चको बाहिरी स्क्रिन — स्रोतहरूबीच सटीक आकारमा केही फरक छ। पछाडि दुईवटा 48MP क्यामेरा, र Face ID को साटो power बटनमै Touch ID राखिने चर्चा छ। iOS 27 लाई ठूलो स्क्रिनमा दुई एप सँगै चलाउन मिल्ने गरी तयार पारिएको भनिन्छ।

मूल्य? विश्लेषकहरूको दायरा 2,000 देखि 2,500 डलर छ। Ming-Chi Kuo का अनुसार उत्पादनमा कठिनाइ आएकाले सुरुमा आपूर्ति निकै सीमित हुनेछ, र pre-order Pro मोडेलहरूभन्दा पछि, सम्भवतः 2026 को अन्तिम त्रैमासमा मात्र खुल्न सक्छ।

नेपालमा कहिले र कतिमा

आधिकारिक वितरक Generation Next (GenXT) मार्फत iPhone नेपाल आइपुग्ने क्रम गत वर्ष अपेक्षाभन्दा छिटो थियो। iPhone 17 विश्वभर September 19, 2025 मा बिक्रीमा आएको थियो; नेपालमा ठ्याक्कै एक हप्तापछि September 26 मै पसलमा पुग्यो। New Business Age सँग कुरा गर्दै GenXT का महाप्रबन्धक विकास गडियाले सुरुको योजना अक्टोबर 10–12 को भए पनि 24 घन्टाभित्र निर्णय फेरिएको बताएका थिए।

त्यही ढाँचा दोहोरियो भने iPhone 18 Pro असोजको अन्त्यतिर नेपाल आइपुग्न सक्छ। तर यो अनुमान मात्र हो — GenXT ले अहिलेसम्म कुनै मिति घोषणा गरेको छैन।

मूल्यको हकमा पनि त्यस्तै। नेपाली रिटेलरका वेबसाइटहरूमा iPhone 18 Pro को “अपेक्षित मूल्य” भनेर 2.4 लाखदेखि 2.85 लाखसम्मका आँकडा देखिन थालिसकेका छन्। ती सबै आफ्नै हिसाबले निकालिएका अनुमान हुन्, आधिकारिक होइनन्। हामी सुझाव दिन्छौँ — GenXT को मूल्य सूची नआएसम्म ती संख्यालाई गम्भीर नलिनुहोस्।

तुलनाका लागि अहिलेको अवस्था: Gadgetbyte Nepal का अनुसार पछिल्लो मूल्य घटेपछि iPhone 17 Pro Max को आधिकारिक मूल्य 256GB मा NPR 242,499 छ। iPhone 17 Pro को 256GB भेरियन्ट करिब 2.2 लाखमा उपलब्ध छ। भोलि आउने Pro यीभन्दा सस्तो हुने कुनै आधार छैन।

अर्को कुरा जुन नेपालमा बारम्बार बिर्सिन्छ। iPhone 18 Pro मा आउने भनिएको C2 modem र mmWave 5G को यहाँ तत्काल कुनै काम छैन। नेपालमा अझै व्यावसायिक 5G सेवा सुरु भएको छैन। NTA ले spectrum बाँडफाँट अन्तिम रूप दिएको र लिलामीको तयारीमा रहेको बताएको छ, तर Ntc र Ncell दुवैले अझै spectrum पाएका छैनन्।

त्यसो भए के गर्ने

तपाईंको फोन अझै राम्रोसँग चलिरहेको छ भने September 9 हेर्नुहोस्, अनि मूल्य आएपछि निर्णय गर्नुहोस्। हतार गर्नुपर्ने कारण छैन।

तर तपाईं iPhone 13 वा त्योभन्दा पुरानो मोडेलमा हुनुहुन्छ, बजेट 2.2 लाखको हाराहारीमा छ, र तीन महिनाभित्रै फोन चाहिन्छ भने अहिले उपलब्ध iPhone 17 वा 17 Pro नै व्यावहारिक विकल्प हो। मूल्य थाहा छ, स्टक छ, र अधिकृत रिटेलरहरूमा cashback अफर पनि चलिरहेका छन्। सस्तो iPhone 18 कुर्दा वसन्त 2027 सम्म पर्खनुपर्छ, र त्यतिबेलासम्म memory को मूल्यले त्यो मोडेललाई पनि छाड्ने संकेत छैन।

टिप्पणी गर्नुहोस्