नेपालका लागि रिमोट वर्क किन महत्त्वपूर्ण छ?

नेपालमा (र प्राय: संसारभरी नै) मूलत: कोरोना महामारी पछि मात्रै रिमोट वर्क (अफिस नगई काम गर्ने) को चर्चा व्यापक रूपमा हुन थालेको हो । नत्र कसैले “म घरबाटै काम गर्छु” भन्यो भने त्यसले झुट बोलेको ठानिन्थ्यो । आज पनि धेरैले ठान्छन् । 

खासमा रिमोट वर्कका फाइदाहरू टन्नै छन् र यसबारे खासगरी पश्चिमाहरूले धेरै अनुसन्धान गरेका थिए र त्यता यसको कार्यान्वयन पनि गरिएको थियो । कोरोना महामारीपछि चाहिँ यसको जबर्जस्त आवश्यकता महसुस भएको थियो । 

हुन त कोरोना लकडाउनको समयमा धेरै अफिसहरूले रिमोट वर्कलाई कार्यान्वयन पनि गरे तर जसै महामारीबाट मानिसहरूले त्राण पाए, फेरी पनि रिमोट वर्क छाँयाँमा पर्न थाल्यो । आज कमै अफिसहरूले यसलाई कार्यान्वयन गरेका छन् । 

रिमोट वर्कका सफलता विभिन्न पक्षहरूमा भर पर्छ । जस्तै व्यक्तिको स्वभाव, कामको प्रकृति, भूगोल, समाज, संस्कृति, मौसम इत्यादी । र कम्प्युटर र इन्टरनेटको सहाराले तपाईँसँग सीप छ भने घरमै बसीबसी धेरै काम गर्न सकिन्छ । 

हामी यो लेखमा नेपालका लागी रिमोट वर्क किन महत्वपूर्ण छ भन्नेबारे चर्चा गर्दैछौँ । 

कम लागत

नेपाल जस्तो देशमा धेरैभन्दा धेरै रोजगार सिर्जना हुनु जरूरी छ । त्यसको लागी धेरैभन्दा धेरै लगानी हुनु पनि आवश्यक छ । तर लगानीको जोखिम र अधिकताकै कारणले गर्दा धेरै जोखिम नै लिन चाहदैनन् । 

तर कम लागत परेको खण्डमा जोखिम लिन चाहनेहरू बढ्छन् । रिमोट वर्कले लागत स्वाँटसुँट्टै झारिदिन्छ । 

जस्तै अफिस खोल्नुपर्यो भने फ्ल्याट वा घरको भाडा, अफिसमा चाहिने फर्निचर, कम्प्युटर लगायतका सामान, बिजुली, नेटको महसुल, सुरक्षा लगायतका विभिन्न कुराहरूमा टन्नै खर्च हुन्छ । त्यो सबलाई चाहिने पैसा केही कर्मचारीलाई तलब खुवाउनै पुग्छ । त्यो खर्च स्वाँट्टै घट्छ । 

त्यो मात्रै हैन, अफिस जानुपर्दा कर्मचारीको पनि दिनदिनै आउ-जाउ-खाउमा टन्नै पैसा खर्च भैरहेको हुन्छ । रिमोट वर्कमा अलि कम तलबमा पनि धेरैले काम गर्न तयार हुन्छन् जसले गर्दा कर्मचारीलाई दिनुपर्ने पैसा पनि घट्छ । 

रिमोट वर्कले गर्दा यातायात र इन्धन खर्च बचत भएर देशकै भार कम गराउँछ । ट्राफिक कम भयो भने ट्राफिकको खर्च पनि जोगिन्छ । खासमा यस्ता लुकेका फाइदाहरू टन्नै छन् । 

त्यस्तै नेपालमा सस्ता कामदारहरू पाउनको लागी विदेशका लगानीकर्ताले पनि बाहिरबाटै यहाँ कर्मचारी भर्ती गर्न सक्छन्। त्यसले वैदेशिक लगानी पनि बढाउन सक्छ । 

छोटकरीमा भन्नुपर्दा कम्पनी खोल्नको लागी निकै कम लागत लागेको खण्डमा नेपालमा धेरैभन्दा धेरै लगानी हुने तथा भित्रिने र धेरैभन्दा धेरै रोजगारी सिर्जना हुन्छ जुन नेपालको लागी रक्तसञ्चार साबित हुनसक्छ । 

समय बचत

अर्को महत्वपूर्ण फाइदा भनेको समयको बचत हो जसकारण मानिसहरूले कुनै एउटा मात्रै हैन, अन्य धेरै काम पनि गर्न सक्छन् जसकारण उत्पादकत्व बढेर देशको कुल गार्हस्थ पनि बढ्ने र मानिसहरूको जीवनस्तर पनि बढ्ने हुन्छ । 

काठमाण्डुको कुरा गर्ने हो भने यहाँ अफिस आवरमा टन्नै जाम हुन्छ जसकारण आउजाउमै प्राय: २ घण्टा गइरहेको हुन्छ । तर त्यो त नियमित समय बर्बादी हो । सधैँ अफिस आउजाउ मात्रै हुँदैन, यताउति पनि गइन्छ जसले खर्च र समय थप बर्बाद गर्छ । 

कम्पनी मालिकको पनि टन्नै समय बर्बाद भएको हुन्छ जुन समय उसले अन्य योजना र सिर्जनशीलता वा अन्य जुनसुकै कुरामा दिन सक्थ्यो । मिटिङ, तात्तो न छारोको गफगाफ, अफिसका कर्मकाण्ड लगायतमा पनि टन्नै खर्च भैरहेको हुन्छ । 

खासमा समय धेरै लाग्ने भएकोले उत्पादकत्वमा पनि धेरै असर परिरहेको हुन्छ । यदी १० लाख मानिसले दिनको दुईतीन घण्टा बचत गर्ने हो भने पनि देशमा अन्य कुराहरूमा टन्नै उत्पादकत्व बढ्छ । 

जस्तै केहि काम नगरे पनि मानिसहरू जिम गए वा फुटसल खेल्न गए भने पनि ती क्षेत्रमा लगानी गरेकाहरूलाई फाइदा हुन्छ जसकारण तिनमा थप लगानी भएर थप रोजगारी सिर्जना हुनसक्छ । 

उत्पादकत्वमा बढोत्तरी

मानिसको स्वभाव र कामको प्रकृति अनुसार रिमोट वर्कको उत्पादकत्व बढ्ने वा घट्ने हुनसक्छ । जस्तै अन्तरमुखी प्रकृतिका मानिसहरूलाई अफिस गएर काम गरिरहन झ्याउ लाग्न सक्छ र सिर्जनात्मक र सोचेर गर्नुपर्ने कामहरूमा पनि सोही कुरा लागु हुन्छ । 

खासमा रिमोट वर्कबाट उत्पादकत्व बढेको विभिन्न प्रमाणहरूले पुष्टि गरेका छन् । हुन त यो सबै कामहरूमा लागु नहोला तर सहकर्मीहरूसँग सहकार्य तथा संवाद गरेर गर्नुपर्ने कामहरूमा समेत अनलाइनबाटै गर्दा त्यसबाट धेरै उत्पादकत्व बढेका प्रमाणहरू छन् । 

साथै नेपाल जस्ता देशहरूमा धेरैभन्दा धेरै लगानी भित्रिएर धेरैभन्दा धेरैले रोजगारी पाएको खण्डमा मानिसहरूले थप सीप सिक्ने, उनीहरू आफैले लगानी सुरू गर्ने, थप वस्तु र सेवा उत्पादन गर्ने तिर ध्यान दिने थिए जसले समग्र देशकै उत्पादकत्व बढाउने थियो । 

यो पनि पढ्नुहोस्: के नेपालले सफ्टवेयर विकासमा विकसित राष्ट्रहरूको जस्तो काम गर्न सक्छ ?

अर्को कुरा, नेपाल पहाडि देश भएकाले कृषि, खानी लगायतका कतिपय पक्षहरूमा नेपालीहरूले चाहेर पनि भारत लगायतका मैदानी देशहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यि कामहरू रिमोट वर्कमा पर्दैनन् र गर्न नि सकिदैन । 

तर ल्यापटपबाट गर्ने सकिने कामहरूमा त नेपालीहरूले संसारका जुनसुकै देशका निवासीहरूसँग प्रतिस्पर्धा गर्न मजाले सक्छन् । त्यसकारणले पनि हामीले आफ्ना नागरिकलाई संसारभरका दक्ष जनशक्तिसँग प्रतिस्पर्धी बनाउन रिमोट वर्कलाई प्राथमिकता दिनुपर्छ । 

विश्वव्यापी जनशक्तिमा पहुँच

तपाईँले कतै अफिस खोल्नुभयो भने कस्ता र कहाँका मानिसहरू त्यहाँ भर्ती हुने सम्भावना हुन्छ ? पक्कै पनि त्यो अफिसबाट निश्चित दुरीमा रहेका मानिसहरू । 

कतै जागिर पाइहालियो भने पनि त्यसकै लागी भनेर मानिसहरूले बसाईँ सर्ने कमै हुन्छन् किनकी सरकारी बाहेक अन्य जागिरको भर हुँदैन । 

यो पनि पढ्नुहोस्: सूचना-प्रविधि क्षेत्रका युवा किन धेरै विदेश नै जान्छन् ? 

भन्न खोजेको, तपाईँ निकै कम कर्मचारीमा भर पर्नुपर्ने हुन्छ जसमा पर्याप्त सीप र अनुभव नहुन पनि सक्छ । तर रिमोट वर्क मार्फत् तपाईँले संसारभरका दक्ष र अनुभवी मानिसहरूलाई भर्ती गर्न सक्नुहुन्छ । 

नेपालमा नभएका दक्ष र अनुभवी मानिसहरूलाई भर्ती गरेर दिर्घकालीन रूपमा नेपालमा त्यस्ता सीप र सम्बन्धित उत्पादनहरू बढाउन सकिन्छ । धेरैभन्दा धेरै नेपालीहरूमा ती सीपहरू सिकाउन सकिन्छ जसले नेपाललाई सम्पन्न बनाउन सहयोग पुर्याउँछ । 

खासमा नेपाल विपन्न र अविकसित देश भएकाले गर्दा यहाँ संसारभरका दक्ष र अनुभवी कामदारहरूको सीप र क्षमताको प्रचुर सदुपयोग गरेर देशलाई धनी बनाउन पनि रिमोट वर्कलाई प्राथमिकता दिनुपर्छ । 

अर्कोतिर नेपालमै पनि टन्नै बेरोजगार छन् जो रिमोट वर्क पाए जति पनि गर्छन् । यदी विदेशबाट यस्ता रिमोट वर्कका अवसरहरू आएमा देशमा टन्नै रोजगार सिर्जना हुन्थ्यो र देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने थियो । 

भौगोलिक तथा सांस्कृतिक विकटता छल्न

नेपाल ८०% पहाडी भूभाग हो जसकारण यहाँ यातायातको दुर्लभता र भौगोलिक विकटता छ । यसलाई छल्नको लागी पनि रिमोट वर्कको आवश्यकता छ । 

एक ठाँउबाट अर्को ठाउँमा पुग्नको लागी समय लाग्ने समस्या त छँदैछ, यहाँ पहाड र गाउँहरू पनि रित्तिएको छ । प्राय: मानिसहरू विदेश नै जान चाहन्छन् । धेरै काठमाण्डु र पोखरा जस्ता शहरमा छन् ।

यस्तोमा घरबाटै काम गराउन सकियो भने कोठाभाडाको लागी चाहिने पैसा र विदेशीने पैसा पनि बच्थ्यो जसकारण त्यो पैसा मानिसहरूले अन्य कुरामा खर्च गर्न सक्थे । साथै नेपालमा परिवार छुट्टिने समस्या पनि धेरै हदसम्म कम हुन्थ्यो । 

अर्को कुरा, नेपालमा महिला र सीमान्तकृत समुदाय धेरै पछाडी रहेका छन् । यदी तिनलाई पनि घरबाटै काम लगाउन सकियो भने तिनको पनि सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक उत्थान हुन्थ्यो । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.