
सूचना र प्रविधको तीव्र विकासको कारण सरकारले आफ्ना सेवा, सुविधा र सूचनाहरूलाई चुस्त र प्रभावकारी पार्नको लागी विभिन्न सरकारी निकायहरूले आफै सम्बन्धित यापहरू बनाएका छन् ।
हुन त “सरकारी काम कहिले जाला घाम” भन्ने उखान आज पनि देखिन्छ । जसरी प्राय: सबै कुराहरू सरकारीभन्दा नीजी नै राम्रा हुन्छन् , यापहरूको हकमा पनि हुने त्यही नै हो ।
तर पनि हामीले यहाँ चर्चा गर्न लागेका यापहरूले निश्चय नै तपाईँलाई धेरै सूचना र सेवा दिन्छन् र तपाईँको जिवनलाई धेरै सहज बनाइदिन्छन् ।
आउनुस् ती उपयोगी सरकारी यापहरूबारे केही चर्चा गरौँ ।

नागरिक याप (Nagarik App)
खासगरि प्यान कार्ड लिनको लागी अनिवार्य भएकाले पनि होला, यो सम्भवत: सबैभन्दा चर्चित सरकारी याप हो । यसमा सरकारले थुप्रै अन्य कुराहरूको पनि जानकारी दिन्छ ।
जस्तै कर, सामाजिक सुरक्षा, नागरिक लगानी कोष, सञ्चय कोष, नगरपालिका वा गाउँपालिका, परिक्षा बोर्ड, भोटरकार्ड, नागरिकता, पासपोर्ट लगायतका तपाईँका विवरणहरू यसमा दिईन्छ ।
साथै यसले तपाईँको लाइसन्स, गाडिको कर, पुलिस रिपोर्टको विवरण, स्वास्थ्य बिमा, नो अब्जेक्शन लेटर, के.वाइ.सी फारम, खानेपानी बिलको विवरण इत्यादी पनि प्रदान गर्छ ।
नागरिक याप एनड्रोइडमा डाउनलोड गर्नुहोस
नागरिक याप आइ.ओ.एसमा डाउनलोड गर्नुहोस
वैदेशिक रोजगारी याप (Baideshik Rojgari)

वैदेशिक रोजगारीमा गएकाहरूमाझ निकै चर्चित यो यापले तिनीहरूकै लागी मूलत: पुन: श्रम स्वीकृती लिने कामलाई सहजीकरण गर्ने उद्देश्य बोकेको छ र कार्यान्वयन पनि गर्छ ।
साथै यसले महत्वपूर्ण सम्पर्कहरू, महत्वपूर्ण सूचनाहरू, जानकारी, स्रोतहरू, पासपोर्ट, म्यानपावर कम्पनी, ब्याङ्क, बिमा, पूर्व-स्वीकृती इत्यादीका विवरणहरू पनि प्रदान गर्छ ।
अनि वैदेशिक रोजगारीका ऐनहरू, काम लगाउने र गरिरहेको कम्पनीका विवरणहरू पनि हेर्न सक्नुहुन्छ ।
वैदेशिक रोजगारी याप एनड्रोइडमा डाउनलोड गर्नुहोस
वैदेशिक रोजगारी याप आइ.ओ.एसमा डाउनलोड गर्नुहोस
नेपाल ल याप (Nepal Law App)

आम नागरिकलाई संविधान र कानुनको बारेमा आधिकारिक सूचना दिने उद्देश्यका साथ नेपाल सरकारको कानुन, न्याय तथा संसदिय मन्त्रालयले बनाएको अर्को चर्चित याप हो नेपाल ल याप ।
यो याप मार्फत् तपाईँले नेपालको संविधान, कानुन, संघीय तथा प्रादेशिक कानुनहरू, विधान, नीतिनियम, अध्यादेश इत्यादीको बारेमा अनलाइनमा हेर्न सक्नुहुन्छ वा अफलाइनमा हेर्न सेभ पनि गर्न सक्नुहुन्छ ।
कानुन भनेको कानुन हो । कानुन मिचिसकेपछि “मलाई कानुनको बारेमा थाहा थिएन” भन्न पाइँदैन । त्यसकारण यो याप कानुन थाहा पाउन निश्चय नै सहयोगी हुन्छ ।
नेपाल ल याप एनड्रोइडमा डाउनलोड गर्नुहोस
नेपाल ल याप आइ.ओ.एसमा डाउनलोड गर्नुहोस
आइ.आर.डि नेपाल (IRD Nepal)

आन्तरिक राजश्व विभागले निकालेको यो यापले मूलत: तपाईँको कर विवरणहरूको बारेमा जानकारी दिन्छ । जस्तै भ्याट (VAT), आयकर, अन्त:शुल्क इत्यादी ।
यसले तपाईँलाई विभागले निकालेका नयाँ सूचना, कानुन, राजश्वसम्बन्धी समाचारहरू पनि प्रदान गर्छ । साथै ट्याक्स क्यालकुलेटर, टि.डि.यस. पोर्टल (TDS Portal), करदाताको पोर्टल (Taxpayer portal), प्यानकार्ड को विवरण इत्यादी पनि प्रदान गर्छ ।
आइ.आर.डि नेपाल एनड्रोइडमा डाउनलोड गर्नुहोस
नेपाल कस्टोम्स (Nepal Customs)

नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागका कामकार्वाही, सेवा, सूचना र विवरणहरू जनतालाई दिने उद्देश्यका साथ बनाइएको याप हो नेपाल कस्टोम्स ।
यसमा तपाईँले भन्सारका कार्यक्रमहरू, भ्याट, सूचना, भन्सार कर, सीमानाकामा हुने विभिन्न करहरू इत्यादीको बारेमा थाहा पाउन सक्नुहुन्छ ।
यो याप मूलत: आयात-निर्यातमा सहभागीहरू, व्यापारीहरू, भन्सारका कर्मचारीहरू र भन्सारमा कर तिर्नुपर्ने सर्वसाधारणहरूको लागी उपयोगी हुन्छ ।
नेपाल कस्टोम्स एनड्रोइडमा डाउनलोड गर्नुहोस
नेपाल ई-पासपोर्ट (Nepal ePassport)

हुन त यसमा उच्च ट्राफिकको कारण याप नै नचलेको र वेबसाइटमा जान सुझाव दिने तर त्यसमा पनि त्यही समस्या रहेको धेरै प्रयोगकर्ताको गुनासो रहेको छ तर पनि चलाएको बेलाम चलेको खण्डमा यसले तपाईँको धेरै समय वचत गरिदिन्छ ।
यसै पनि रेमिट्यान्सले चलेको देश नेपालमा धेरैभन्दा धेरै युवाहरू विदेशिइरहेका छन् र पासपोर्ट बनाउने काम नेपाल सरकारको सबैभन्दा बढी सक्रियमध्येमा पर्छ ।
यसमा तपाईँले पासपोर्टको फारम भर्ने, पासपोर्टसम्बन्धी सूचना, जानकारी इत्यादी पाउने तथा सोही अनुसारका अन्य सेवाहरू पाउन सक्नुहुन्छ ।
नेपाल ई-पासपोर्ट एनड्रोइडमा डाउनलोड गर्नुहोस
नेपाल ई-पासपोर्ट आइ.ओ.एसमा डाउनलोड गर्नुहोस
एच.आइ.बि प्रोफाइल (HIB Profile)

यो यापमार्फत् तपाईँले स्वास्थ्य बिमा बोर्डले जारी गर्ने सूचनाहरू, जानकारी, बिमा सेवा प्रदान गरिरहेका कम्पनीहरू, स्वास्थ्य बिमाको मूल्य इत्यादीको बारेमा थाहा पाउनुहुन्छ ।
साथै सम्बन्धित स्वास्थ्य बिमाका सर्तहरू, तिनका फाइदाहरू, दाबी गर्नको लागी चाहिने कागजपत्रको बारे जानकारी, म्याद गुज्रे्को बारे, खाता विवरण इत्यादी पनि प्रदान गर्छ ।
एच.आइ.बि प्रोफाइल एनड्रोइडमा डाउनलोड गर्नुहोस
एच.आइ.बि प्रोफाइल आइ.ओ.एसमा डाउनलोड गर्नुहोस
स्थानीय तहको एप (Local Level App)

यो यापमार्फत् तपाईँले आफ्नो स्थानीय तहका निकायहरूमा भइरहेका सरकारी कामकार्वाहीहरू, गतिविधि, सूचना, जानकारी इत्यादी पाउन सक्नुहुन्छ ।
जस्तै आफ्नो नगरपालिका वा गाउँपालिकाको वडाले दिन लागेका सेवासुविधाहरू, तिनको सूचना, जनप्रतिनिधिहरूको सम्पर्क, कार्यालय सम्पर्क, त्यहाँका घटनाहरू, समाचार, बजेट इत्यादीको बारेमा थाहा पाइन्छ ।
स्थानीय तहको एप एनड्रोइडमा डाउनलोड गर्नुहोस