मानसिक स्वास्थ्य मा सोसल मिडिया को प्रभाव

सोसल मिडियाका थुप्रै-थुप्रै आश्चर्यजनक र उपयोगी फाइदाहरू छन् । यसले संसारभरका मानिसहरूलाई एउटै प्ल्याटफर्ममा जोडिन, तिनको जिन्दगीसँग साक्षात्कार गर्न, समाचार पाउन, नयाँ मानिस भेट्न, नाम र दाम कमाउन लगायत थुप्रै फाइदाहरू छन् । 

तर हामी सबैलाई थाहा भएको एउटा कुरा के हो भने यो एउटा ठूलै लत हो । हामीले फोन चलाउने लतको मनोवैज्ञानिक रहस्यबारे केही समय अघि एउटा लेख लेखेका थियौँ । 

सोसल मिडियाले जानाजान नै लत बढाउने काम गरिरहेको छ भन्नेबारे बनेको द सोसल डिलेमा नामक डक्युमेन्ट्रिको बारेमा पनि लेखेका थियौँ । साथै हामीले यस्तो दिन चाँडै नै आउँछ भन्ने आजभन्दा ३० वर्ष अगाडि नै देखेका अमेरिकाका एकजना प्राविधिज्ञ भविष्यवक्ताको बारेको डक्युमेन्ट्रि वि लिभ इन पब्लिकको बारेमा पनि लेखिसक्यौँ ।

तर यो लेखमा चाहीँ सोसल मिडियाले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक असरहरूमा केन्द्रित हुनेछौँ । साथै ती असरका कारणहरू र तिनलाई कम गर्न के गर्नुपर्छ भन्नेबारे पनि चर्चा गर्नेछौँ । 

सोसल मिडियाले मानसिक स्वास्थ्यमा कस्ता नकारात्मक असरहरु पार्छन् ?

सोसल मिडियाको व्यापक विकास हुन थालेको २० वर्ष पनि भएको छैन । त्यसकारण यो दृष्टिकोणबाट हेर्दा यो नयाँ प्रविधिले मानिसको मानसिक स्वास्थ्यमा पार्ने दिर्घकालीन खराब-असल असरहरुको बारेमा प्रामाणिक अनुसन्धान हुन बाँकी नै छ ।

यद्यपी थुप्रै अध्ययनहरुले यसले कम्तीमा केही महिनाको लागी (बढिमा वर्षौँसम्म) नकारात्मक मानसिक असरहरु पर्ने निचोड औँल्याएका छन् । सोसल मिडियाको कारण डिप्रेसन, चिन्ता, एक्लोपना, स्वघात र आत्महत्यासम्मका परिणामहरु देखिने बताइन्छ । 

हामी सबैलाई थाहा छ कि मान्छेहरुले सोसल मिडियामा खाको र लाको, मोजमस्ती गरेको, घुमेको, रमाइलो गरेको लगायतका राम्रा-राम्रा कुराहरु मात्रै हाल्छन् भनेर । त्यस्तो पलहरु प्राय: सबैको जिन्दगीमा कहिलेकाहीँ मात्रै आउँछ जसलाई निरन्तरता दिन धेरै गाह्रो छ भन्ने पनि थाहा छ तैपनि त्यस्ता तिनले हामीलाई डाहा पार्न छाड्दैन ।

कहिलेकाहीँ मोजमस्ती गरेको, त्यो पनि क्यामरा र अ्यापहरुको अनेकखाले ईफेक्ट्सको प्रयोग गरेर अरुलाई जलाउने हेतुले खिचिएका फोटो र भिडियोहरुले मानिसहरुमा लघुताभास, चिन्ता, डाहा, असन्तुष्टि लगायतका भावना पैदा हुन्छ । नेपालका पचासौँ लाख युवाहरु विदेशिनुको एउटा मूख्य कारण यो पनि हो । 

अरुले मोजैमोज मात्रै गरेका छन् तर आफ्नो जिन्दगी बेहाल छ जस्तो प्राय: सबैलाई लाग्छ । अनि सोसल मिडियामा देखाउनकै लागी भए पनि वास्तविक जिन्दगीमा टन्नै पैसा उडाइन्छ । अनेको लाइक र कमेन्ट पाउन फोन हेर्या हेर्यै गर्दा फोनको लत उच्च रुपमा बढेर जान्छ । 

फोनको लतको कारण गाडी वा बाइक चलाउँदा-चलाउँदै पनि सोसल मिडिया चलाउने, रातको निद्रा बिगार्ने, वास्तविक जिन्दगीका नातासम्बन्धलाई भन्दा बढि भर्चुअल नातालाई महत्व दिने, वा यसो भनौँ, वास्तविक संसारभन्दा बढि भर्चुअल संसारलाई नै वास्तविक ठानिदिने सम्मका समस्याहरू निम्त्याउँछन् । 

सोसल मिडियामा देखाउनकै लागी भनेर पचासौँ तलाबाट सेल्फि खिच्दा मरेका, हवाइजहाज नै क्र्याश गरेर हालसालै अमेरिकामा एकजनाले २० वर्षको जेलसजाय पाएका, अमेरिकामै फेसबुकमा लाइभ सामूहिक हत्याकाण्ड गरेका, लाइभ यौनसम्पर्क गरेका जस्ता क्रियाकलापहरु हामीले सुनेका नै छौँ । 

भन्न खोजेको, सोसल मिडियाले भर्चुअल संसारलाई यति वास्तविक जस्तो र लत यतिसम्म तीव्र पारेको छ मानिसलाई कि उसले वास्तविक संसारलाई क्षुद्र ठान्न थाल्छ र यहाँ जस्तो पनि जोखिम मोलिदिन्छ । 

अर्को एउटा अचम्मको नकारात्मक असर के भने यसलाई सोसल मिडिया अर्थात् सामाजिक मिडिया भनिन्छ तर साराका सारा समाज र मानिसलाई असामाजिक बनाउने काम पनि यसैले गरेको छ । सँगसँगै साथीभाई, नातागोता र परिवारका सदस्यहरु बस्दा सबैको ध्यान सोसल मिडियामा नै हुन्छ, वास्तविक भलाकुसारीमा हुँदैन । 

मानसिक स्वास्थ्यको लागी एउटा महत्वपूर्ण कुरा भनेको मानिस-मानिसबीच आँखा जुधाएर बोल्नु पनि हो । तर यसलाई महत्व नदिएर जति धेरै हामी भर्चुअल च्याट र सोसल मिडियाका अन्तरक्रियालाई दिन्छौँ, त्यति नै बढि हामीमा चिन्ता र डिप्रेसन बढ्ने खतरा हुन्छ । 

वास्तविक संसारमा अरुले खिल्लि उडाउने र बिल्ला हान्ने मानिसको सङ्ख्या सीमित हुन्छ तर भर्चुअल संसारमा त्यो सङ्ख्या असीमित हुन्छ जसले पार्न सक्ने मानसिक तनाव अकल्पनीय हुन्छ । जस्तै तेस्रोलिङ्गीले वास्तविक संसारमा भन्दा सोसल मिडियामा धेरै आक्रमणको सामना गरिरहेका हुन्छन् ।

धेरैभन्दा धेरै फोटो र भिडियोहरु हाल्दा मानिस सामाजिक तथा परोपकारी हुनुको सट्टा आत्मकेन्द्रित र स्वार्थी हुने खतरा बढ्छ । साथै वास्तविक सम्बन्धहरुबाट टाढिने प्रवृत्तिमा तीव्रता आउन थाल्छ । 

सोसल मिडियाले पार्ने मानसिक असरबाट बच्न के गर्ने ?

सोसल मिडियाका फाइदाहरु लिने तर यसका नकारात्मक असरहरु सकेसम्म कम गर्नको लागी हामी विभिन्न उपायहरु अवलम्बन गर्न सक्छौँ जुन सुन्दा सजिलो लागे पनि लागु गर्न ज्यादै गाह्रो छ । तर लागु गरेको खण्डमा तपाईँले आफ्नो जिन्दगीमा निकै सकारात्मक बदलाव आएको चाँडै नै महसुस गर्न सक्नुहुन्छ । 

१. समय घटाउनुस्

सोसल मिडिया चलाउने समय स्वाँट्टै घटाउने प्रयास गर्नुस् । त्यो पक्कै पनि एकैचोटिमा सकिदैन तर सुरुमा तपाईँले सोसल मिडिया कत्तिको चलाउने गर्नुहुन्छ, त्यसको ट्र्याक गर्नुस् । दिनमा कति समय र कुनकुन बेला चलाउने भन्नेबारे एकखालको रूटिन बनाउनुस् र कार्यान्वयन गर्नुस् । 

नोटिफिकेशन नै डिसेबल (disable) गर्ने र बेलाबेला फोन नै अफ गर्दा तपाईँलाई निकै धेरै मानसिक राहत मिलेको जस्तो हुन्छ । यसले समय निकै घटाइदिन्छ । सुत्ने बेलामा मोबाइल खाटमा वा नजिक नराख्नुस् । 

फोनबाट सोसल मिडियाको अ्याप नै हटाइदिनुस् । त्यसको सट्टा कम्प्युटर वा ट्याबलेटबाट मात्रै चलाउने गर्नुस् । यस्तो गर्दा निकै कम चलाइन्छ किनकी मोबाइल सजिलै खोल्न सकिन्छ भने अरु डिभाइस खोल्न र हेर्न केहि समय लाग्ने मात्रै हैन, झन्झटिलो पनि हुन्छ । 

२. ध्यान परिवर्तन गर्नुस् 

सोसल मिडियाबाट अन्तै धेरै महत्वपूर्ण कुराहरुमा ध्यान केन्द्रित गर्दा हाम्रो निकै समय बचत हुन्छ र दैनिक जिन्दगीको गुणस्तर पनि बढ्छ । जस्तै प्राय: मानिसहरु झ्याउ लाग्यो भने सोसल मिडिया चलाउँछन् । त्यसको सट्टा बरु कुनै साथीलाई बोलाएर गफ गर्ने वा व्यायाम गर्ने वा कतै घुम्न जाने गर्न सकिन्छ । 

किताब पढ्ने, फिल्म हेर्ने, कुनै काम गर्ने लगायतका कुराहरु गर्न सकियो भने पनि यसको लतलाई धेरै कम गर्न सकिन्छ। 

तपाईँ निश्क्रिय रुपमा वा अज्ञात रुपमा सोसल मिडिया चलाइरहनु भएको छ भने पनि त्यसको खासै ठूलो अर्थ वास्तविक जिन्दगीमा लाग्दैन । सक्रिय रुपमा आफ्नै वास्तविक खाताबाट चलाउनुभएको छ भने चाहीँ त्यसका केही फाइदाहरु छन् । त्यसकारण बिनासित्ति सोसल मिडिया चलाइरहने काम नगरेकै राम्रो । 

आफ्ना स-साना कुराहरुलाई पनि सोसल मिडियामा देखाउने बानी त्यागिदिनुस् । त्यहाँ मानिसहरुले जे देखाउँछन्, तिनको वास्तविक जिन्दगी त्यस्तो लोभलाग्दो हुँदैन जसरी तपाईँले अरुलाई देखाएको जस्तो लोभलाग्दो हुँदैन । यो कुरा मनन गरेर महत्वपूर्ण कुरा मात्रै पोष्ट गर्ने गरियो भने लत धेरै कम हुन्छ । 

३. अफलाइन साथीहरुसँग ज्यादा समय बिताउनुस्

माथि नै भनिसकियो कि हाम्रो सामाजिक तथा मानसिक स्वास्थ्यलाई पोषण प्रदान गर्नको लागी मानिसहरुसँग भेटेरै आँखा जुधाएरै भलाकुसारी र गफगाफ गर्न आवश्यक छ भनेर । तर तपाईँले यि वास्तविक सम्बन्धहरुलाई भन्दा भर्चुअल सम्बन्धलाई बढि महत्व दिन थाल्नुभयो भने समस्या उत्पन्न हुन थाल्छ ।

त्यसकारण अफलाइन साथीहरुसँग ज्यादा समय बिताउने बानी बसाल्नुस् । साथीहरुसँग कतै घुम्न जानुस् वा जिम जानुस् वा कतै कफि खान वा खेल खेल्न जानुस् । यस्तो बानीलाई तीव्रता दिनुस् । 

तपाईँका खासै साथीहरु छैनन् भने वा तपाईँ अन्तर्मुखी वा लजालु हुनुहुन्छ भने पनि कतिपय तपाईँजस्तै परिचितहरुसँग घुलमिल हुन सक्नुहुन्छ । यसरी घुलमिल हुने समूह र उपायहरु टन्नै छन् । इन्टरनेटमा खोजेर अघि बढ्न सक्नुहुन्छ । 

४. सोसल मिडियाका फाइदा-बेफाइदाबारे मनन गर्नुस् 

टिकटकमा लाइभ बसेर महिनाकै बीसौँ लाख कमाएको समेत खबर आउने गर्छ । एकथरीलाई सोसल मिडियामा धेरैभन्दा धेरै समय बिताउनु धेरै नै लाभदायी होला तर अर्काथरी हुन्छन् जो त्यो हेरेर मात्रै बस्ने तर आफैले त्यस्तो फाइदा केही पनि लिन नसक्ने । 

हुन सक्छ कि सोसल मिडियाबाट तपाईँले नाम र दाम कमाउन सक्नुहुन्न । त्यो केही मानिसहरूको तकदिरमा मात्रै लेखिएको छ । तपाईँ वास्तविक संसारमा वा भनौँ सोसल मिडिया बाहिर त्यो कमाउन सक्नुहुन्छ होला ।

एकपटक एकदमै गम्भीर रुपले सोच्नुहोस् कि यत्रो समयसम्म सोसल मिडिया चलाएर तपाईँले के पाउनुभयो ? के पाउन सक्नुहुन्छ ? के गुमाउनुभयो ? र अझै के गुमाउनुहुनेछ ? तपाईँको अमूल्य समय र उर्जा त गुमाइरहनुभएको छैन ? अनि तपाईँको मानसिक स्वास्थ्य ? 

अरुको कृत्रिम मनोरञ्जनपूर्ण जिन्दगी देखेर तपाईँले आफैले आफैलाई घृणा त गर्दै हुनुहुन्न ? अर्काको तात्तो न भुत्लोका नाटकहरु हेरेर आफैले गर्न सक्ने महान कामबाट विचलित त भैरहनुभएको छैन ?

यस्ता कुराहरुको मनन गरेमा यदी फाइदा छन् भने तपाईँले सक्रिय रुपमा सोसल मिडिया चलाउनुहुन्छ जसमा त्यस्तो नराम्रो केही नहोला एक हदसम्म । तर योबाट तपाईँले खासै फाइदा लिन सक्नुभएको छैन भने सोसल मिडिया चलाउने समय स्वाँटसुँट्टै घटाउनु हुनेछ । आखिर मन र संकल्प नै सबथोक हो । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.