च्याटजिपिटिको सहयोगले लेख्ने गर्नुभएको छ ? होस् गर्नुस् , त्यसरी लेखेको थाहा पाउने डिटेक्टर बनिसक्यो

ChatGPT Detector

स्मार्टफोन आएपछि सबैले आफूलाई क्यामराम्यान ठान्न थाले । गुगल र इन्टरनेट आएपछि सबैले आफूलाई विद्वान ठान्न थाले । ठिक त्यसैगरी पछिल्लो समय च्याटजिपिटि आएपछि सबैले आफूलाई खत्रै लेखक ठान्न थालेका छन् ।

खासगरी विद्यार्थीहरूले आफ्ना असाइन्मेन्ट र रिपोर्टहरू लेख्न यसको प्रयोग गर्न थालेका छन् । थुप्रै मानिसहरू अब कपि राइटर र कन्टेन्ट राइटरको जागिर सजिलै पाइने भयो भनेर मख्ख छन् । 

पहिले कन्टेन्ट राइटरहरू प्याराफ्रेजिङ टूल (paraphrasing tool) प्रयोग गरेर अफिसहरूलाई झुक्याउँदै मस्तले आफैले लेखेको जसरी भ्रम पार्न खप्पिस हुन्थे र भइरहेका छन् । अब त त्यस्ताहरूलाई झन् सजिलो भएको छ । च्याटजिपिटिले सजिलै झन् राम्रो लेखिदिन्छ र त्यसलाई प्याराफ्रेजिङ टुलको माध्यमले थप पृथकजस्तो पारेर लेख्न सकिन्छ ।

यस्तो धेरैले गर्न थालिसकेका छन् । कतिले यसकै माध्यमले ब्लग लेख्न पनि थालिसके होलान् । कतिले युट्युबमा भिडियोको लागी स्क्रिप्ट पनि यसैमार्फत् बनाउन थालिसके होलान् । अनि कति यस्ता अफिसहरू होलान् जसले यसकै माध्यममार्फत् २,४ जना स्टाफ खटाएर दैनिक २०,३० वटा लेखहरू आफ्ना वेबसाइटमा छापिरहेका छन् ।

लेख्नु भनेको गाह्रो कुरा हो । लामो समयसम्म लेख्दा-लेख्दा खारिनुपर्ने एउटा साधना हो । 

तर आजकाल इन्टरनेट, च्याटजिपिटि, गुगलको जमानामा जुनसुकै बाँदर समेत सामान्य टाइप गर्न जानेको भरमा अरूको अगाडि विद्वान लेखक जस्तो देखिइन सक्छ र लामै समय अरूलाई भ्रममा पार्न सफल हुन्छ । 

तर यसरी मख्ख पर्नेहरूलाई अलि गाह्रो पार्ने गरी च्याटजिपिटि उत्पादन गरेको कम्पनी ओपनएआइले नै उक्त माध्यममार्फत् लेखिएका वा अन्य यस्तै एआइ टुलबाट जेनेरेट भएका लेखहरू थाहा पाउन सक्ने सफ्टवेयर बनाएको छ ।

उसका अनुसार खासगरी स्कुल, कलेजहरूमा शिक्षकहरूलाई सहयोग गर्ने हिसाबले उनीहरूले यो बनाएका हुन् किनकी विद्यार्थीहरूले यसको सदुपयोगभन्दा पनि दुरूपयोगमा ज्यादा समय खर्च गरिरहेका छन् । र यो टूलले च्याटजिपिटिमा भर परेर कपि राइटर र कन्टेन्ट राइटर बनौँला भनेर मख्ख परेकाहरूलाई पनि समस्यामा पारिदिएको छ ।

उसो त एआइले मान्छेलाई कहिल्यै पनि जित्न सक्ला जस्तो हामीलाई लाग्दैन । मान्छे भनेको मान्छे हो र एआइ भनेको एआइ हो । एआइले मान्छेको भाषा ठ्याक्कै कहिल्यै उतार्न सक्दैन पनि ।

गुगल ट्रान्सलेट, ग्रामर्लि, प्याराफ्रेजिङ् टूलहरू लगायतका एआइहरूमा अझै पनि थुप्रै समस्याहरू छन् र शायद अरू थपिनेछन् । राम्रो पठन-लेखन भएको मानिसले कुनै पनि लेखमा भएको यान्त्रिकताको सहजै अनुमान गर्न सक्छ । लेखमा मौलिकता भएनभएको परख गर्न सक्नु पनि उनीहरूको लागी खासै ठूलो कुरो हैन ।

तर कम्पनी र शैक्षिक संस्थाहरूमा त्यस्तो क्षमता भएका मानिसहरु हुन्छन् नै भन्ने छैन र ती कम्पनीहरूमा यस्ता ठगहरूले लामै समयसम्म यि र यस्ता सफ्टवेयर र एआइको प्रयोग गरेर जागिर खाइरहेका हुन्छन् । च्याटजिपिटिको मामिलामा पनि त्यस्तै हुन नसक्ने हैन । 

त्यसमाथि च्याटजिपिटि पछिल्लो समय ज्यादै उत्कृष्ट एआइको रूपमा आफ्नो काम गर्दै आइरहेको छ । यसलाई ज्यादै सिर्जनशील रूपमा प्रयोग पनि गर्न सकिन्छ । लेखहरू मानौँ आफ्नै हो जसरी जेनेरेट गर्न लगाउन पनि सकिन्छ । एक हदसम्म मौलिक र सिर्जनशील जस्तो लाग्ने लेखहरू समेत च्याटजिपिटिले लेख्न सक्छ ।

त्यति हुँदा हुँदै पनि च्याटजिपिटि भनेको एआइ हो र यसका आफ्ना सीमा र कमजोरीहरू छन् । कहिलेकाहीँ यसले खत्रै विद्वानले जसरी लेख्न सक्छ तर बेलाबेलामा यस्ता गल्तीहरू पनि गरिदिन्छ जुन बच्चाले पनि गर्दैन बोल्दा वा लेख्दा । र यस्ता स-साना कुराहरू हेरेर एउटा उत्कृष्ट पाठक वा लेखकले च्याटजिपिटिबाट सिर्जना गरिएको लेखको अनुमान गर्न सक्छ ।

तर त्यस्तो अनुमान गर्नको लागी त्यस्तै खालको एआइ बनाएको राम्रो हो र त्यो बनि पनि सक्यो । र थुप्रैले यस्ता एआइमार्फत् सिर्जित लेखहरू खुट्याउन सक्ने एआइ टूलहरू बनाइसकेका छन् र यिनको थप विकास र विस्तार होला ।

एआइ टेक्स्ट क्लासिफायर (AI Text Classifier)

च्याटजिपिटिलाई सबैभन्दा राम्रोसँग बुझेको भनेको यसकै कम्पनी ओपनएआइले हो । र यसबाट सिर्जित लेख खुट्याउन सक्ने सबैभन्दा राम्रो टूल कसैले बनाउन सक्छ भने त्यो पनि यही कम्पनीले नै सक्छ । र बनायो पनि । त्यो टूलको नाम हो एआइ टेक्स्ट क्लासिफायर ।

यसले त्यस्ता लेखहरू ठ्याक्कै खुट्याउन सक्ने सम्भावना सबैभन्दा बढी छ । यसमा तपाईँले कम्तिमा १००० क्याराक्टर (१५०-२५० शब्दहरू) हालेर Submit बटनमा क्लिक गर्नुपर्छ । 

त्यसपछि यसले सम्भावनाका विभिन्न डिग्रिहरूलाई जनाउने शब्दहरू भएका नतिजा दिन्छ । जस्तै very unlikely, unlikely, unclear if it is, possibly, or likely AI-generated इत्यादी भनेर नतिजा दिन्छ ।

तर ठगहरूलाई हौस्याउने यसको एउटा सीमितता भनेको यसले १००० क्याराक्टरभन्दा कम भएको लेखहरूको बारेमा चाहीँ बताउदैन । त्यसकारण जति लामो भयो त्यति खुट्याउन सक्ने सम्भावना ज्यादा हुन्छ ।

तर ठगहरूलाई अर्को तनाव छ । त्यो के भने अन्य डिटेक्टरहरूले चाहीँ थाहा पाइदिन सक्छन् ।

अन्य डिटेक्टरहरु

ओपनएआइ आफैले सन् २०१९ मा बनाएको जिपिटि-टु आउटपुट डिटेक्टर (GPT-2 Output Detector) अझै पनि यस्ता लेखहरू पत्ता लगाउन ज्यादै उपयोगी छ । यसले १००० क्याराक्टरभन्दा कम भएको लेखलाई पनि सजिलै डिटेक्ट गरिदिन्छ ।

शब्दहरूको जथाभाबी प्रयोग हेरेर मान्छेले लेखेको हो कि एआइले हो, थाहा पाउने डिटेक्टर हो जिपिटिजिरो (GPTZero) ।

स्ट्यानफोर्ड विश्वविद्यालयले च्याटजिपिटि जस्तै लार्ज ल्याङ्वेज मोड्युलहरू प्रयोग गरेर सिर्जना गरिएका लेखहरू पत्ता लगाउने DetectGPT बनाएको छ ।

त्यस्तै, यस्तै खालका काम गर्न सक्ने अन्य  सशक्त एआइ टूलहरू यसप्रकार छन् : Giant Language Model Test Room (GLTR), Originality.AI, Content At Scale, Writer, Crossplag, Copyleaks इत्यादी ।

हामी पाठकहरूलाई के सल्लाह दिन्छौँ भन्दा च्याटजिपिटिको सहयोगले आफैले लेखेको मौलिक सिर्जना जसरी सार्वजनिक रूपमा प्रस्तूत गर्नुभन्दा अगाडी यस्तै काम अरूले पनि गरिरहेका होलान् र लेखहरू ठ्याक्क उस्तै देखिएला र मान्छेहरूले तपाईँ ठग हो भनेर सहजै थाहा पाउलान् भनेर सोच्नु बुद्धिमत्ता हुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.