के नेपालले सफ्टवेयर विकासमा विकसित राष्ट्रहरूको जस्तो काम गर्न सक्छ ?

Software production potential

शीर्षक पढ्नासाथ तपाईँको दिमागमा उत्तर आइसक्यो होला – “सक्दैन” भनेर । तर असम्भव भन्ने कुरा केही पनि छैन । र अझ आशालाग्दो र सकारात्मक कुरा के भने, संसारका कतिपय ठूला आइटी कम्पनीहरूले नेपाली विद्यार्थीहरूलाई नै हायर गरेर काम गरिरहेका छन् ।

यदी तपाईँ आइटी क्षेत्रको विद्यार्थी वा पेशेवर हुनहुन्छ भने पक्कै पनि तपाईँलाई थाहै होला कि काठमाण्डुमा अहिले तीसौँ वा त्योभन्दा बढी त्यस्ता आइटी कम्पनीहरू छन् जसले या त विदेशको लागी सफ्टवेयर बनाउँछन् वा ती विदेशी कम्पनी नै हुन् तर जनशक्ति चाहीँ नेपाली ।

जस्तै लगपोइन्टले साइबर सेक्युरिटीको क्षेत्रमा संसारमै नाम र पुरस्कार कमाएको छ । लीपफ्रग, सिडार गेट्स, ब्रेन डिजिट, क्लाउड फ्याक्ट्री, जाब्रा, वेरिस्क, ग्रो बाइ डेटा इत्यादी नेपालमा प्रसिद्ध विदेशी कम्पनीहरू हुन् जसले दशकौँदेखि नेपाली जनशक्तिको प्रयोग गरेर विदेशीहरूको लागी सफ्टवेयर विकास गरिरहेका छन् ।

अब “नेपालमा केही पनि हुँदैन, यो तोरी देश हो, यहाँका मान्छेहरू सबै तोरी हुन्” भन्ने निराशावादी मानिसहरूले मनन गर्ने प्रश्न के हो भने यदी विदेशीहरूले नेपाली आइटी जनशक्तिलाई प्रयोग गरेर आफ्ना देशमा सफ्टवेयरको विकास, विस्तार र विक्रि गरिरहेका छन् भने त्यही काम नेपालीकै नेतृत्वमा गर्न किन नसकिने ?

हो, यो प्रश्नको जवाफ कतिपय नेपालीको काम र सफलताले नै दिइसकेको छ । र थप आँटिला युवाहरूले नेपालमै सफ्टवेयर विकास गर्ने आइटि कम्पनीहरु खोलेर विदेशीहरू र स्वदेशीहरूको लागी सेवा पुर्याइरहेका छन् । अनि अन्य कतिपयले त्यो आँट गर्ने सुरसार पनि कसेका छन् ।

हुन त नेपालमा अझै पनि आइटी पेशामा ठूलै स्कोप र अवसरहरू आइसकेको छैन भन्ने हामी सबैलाई थाहा छ । देशका दक्ष तर बेरोजगार आइटी विद्यार्थीहरूको सङ्ख्या ठूलै छ र तीमध्ये धेरै विदेशिइसकेका छन् । कति नेपालमै आफ्नो क्षेत्रभन्दा बाहिरका काम गरिरहेका छन् । र कति त बेरोजगार छन् । 

तर पनि, काठमाण्डुमा खुलेका राष्ट्रिय र अन्तर्राष्ट्रिय आइटि कम्पनीहरूबाट के थाहा हुन्छ भने नेपालीहरू सफ्टवेयर विकास गर्न सक्षम छन् । विदेशी जत्तिकै सक्षम छन् । खाली अवसर पाउनुपर्यो । तर समस्या के भने “चान्स पायो भने नेपालीले गर्छ तर चान्सै पाउँदैन त के गर्ने त अब” भन्ने जस्तै छ ।

भारतीयहरुले सक्छन भने नेपालीले किन नसक्ने ?

हामी सबैलाई थाहा छ कि अमेरिकाको प्रविधिको मूख्य राजधानी मानिएको सिलिकन भ्याल्लिमा दक्षिण ्भारतीयहरूको वर्चश्व छ भनेर । तपाईँहरु प्राय: लाई लागिरहेको होला कि संसारकै सबैभन्दा दक्ष भएकाले अमेरिकाले तिनीहरूलाई लिएको हो ।

तर त्यस्तो हैन । शायद भारतीयहरूभन्दा चिनिया बढी दक्ष छन् होला । किन पनि भने चिनियाहरूले आफ्नै ओएस (अपरेटिङ सिस्टम) बनाएका छन् । प्रविधिको आफ्नै साम्राज्य छ जुन भारतीयहरूको छैन । 

सिलिकन भ्याल्लिमा दक्षिण भारतीयहरूले यत्रो प्रगति गर्दा पनि भारत आफैले चाहीँ किन चीनको जत्ति पनि प्रगति गर्न नसकेको होला? भारतको ब्याङ्लोरलाई त्यहाँको सिलिकन भ्याल्लि मानिएको छ तर पनि त्यसले चीनलाई किन उछिन्न नसकेको हो त?

खासमा सिलिकन भ्याल्लिमा दक्षिण भारतीयहरूको वर्चश्व हुनुमा उनीहरूको दक्षता भन्दा बढी काकताली वा भनौँ, संयोगले काम गरेको हो । 

असी र नब्बेको दशक अनि सन् २००० पछिका केही वर्ष इन्टरनेटको त्यति साह्रो विकास भएको थिएन । खासगरी नब्बेको दशकमा अमेरिकालाई आइटिको क्षेत्रमा सस्तो कामदार चाहियो । त्यसको लागी ईङ्लिश भाषा जान्ने मानिस चाहिन्थ्यो, जुन दक्षिण भारतीयहरूको लागी ठूलो कुरा थिएन । भारतको राष्ट्र भाषा मा ईङ्लिश पनि समावेश गरिएको छ । 

अर्को एउटा गजबको संयोग पर्यो । क्यालिफोर्नियाको सिलिकन भ्याल्लि र दक्षिण भारतबीच ट्याक्क बाह्र घण्टाको फरक छ जसकारण यता दिउँसो काम गर्दा भोलिपल्ट उता काम भइसकेको हुन्थ्यो । 

आजको समयमा जस्तो इन्टरनेटको विकास भएको थिएन बीसौँ शताब्दीको अन्त्यसम्म पनि । इन्टरनेट केबल ठूला आइटीकम्पनीहरू र सरकारले मात्र किन्न सक्थ्यो । फलत: दक्षिण भारत अमेरिकनहरूको लागी सस्तो कामदार र भनेकै समयमा, त्यो पनि ईङ्लिश भाषामै, पाउने ज्यादै उपर्युक्त ठाउँ बन्यो ।

त्यसको अमेरिकाले त टन्नै फाइदा उठायो, उठायो, भारतले पनि उठायो । त्यसकै नतिजा – अहिले सम्म पनि प्रविधिमा दक्षिण भारत उत्तर भारतभन्दा धेरै अगाडी छ । भारतको प्रविधिको राजधानी नै ब्याङ्लोर हो । दक्षिण भारतीय फिल्महरूमा उच्च र नवीनतम प्रविधिहरूको प्रयोग भएको देख्न सकिन्छ बलिउडभन्दा ।

यहाँनेर हामीले भन्न खोजेको कुरा के हो भने दक्ष कामदारहरू नेपालमा पनि टन्नै छन् तर भारतको जस्तै संयोग पर्न पर्यो वा चीन वा ताइवानले जस्तै प्रविधि विकासका नीतिहरू ल्याउनुपर्यो । नेपालीहरूले पनि भारतीयले जस्तै धेरै थोक गर्न सक्छन् ।

अहिले त इन्टरनेटको जमानामा नेपालीहरुमार्फत् काम लगाउने विदेशीहरू टन्नै छन् जुन माथी चर्चा गरिसकिएको छ । अमेरिकाले कुनै बेला दक्षिण भारतमा जे गर्थ्यो, अहिले अन्य देशहरूले नेपाल वा अन्य देशमा त्यही गरिरहेका छन् । त्यसको फाइदा नेपाल र नेपालीले उठाउन सक्नुपर्छ ।

नेपाल सरकारले के गर्नुपर्छ ?

सिधा भाषामा भन्नुपर्दा नेपालले विदेशी लगानी भित्र्याउने, तिनीहरूको सम्पत्ति बाहिर लान पाउने र रक्षा गरिदिने, तिनीहरूलाई थप लगानी गर्न प्रोत्साहन गर्ने खालका कानुन ल्याउने, कानुनमा भएका अनेक खाले उल्झनहरू हटाउने इत्यादी गर्नुपर्छ । 

नेपाल व्यापक रूपमा खुला अर्थतन्त्रमा जानुपर्छ ताकी संसारभरका मानिसहरू यहाँ काम गर्न र लगानी गर्न आउन् । त्यसो गर्दा आइटी क्षेत्रका पनि आउने सम्भावना हुन्छ र यो क्षेत्रमा अवसरहरू पनि बढ्छ ।

अर्को कुरा आइटी लगायत प्राय: सबै क्षेत्रहरूमा कर कटौती गर्नुपर्छ जसकारण नेपालमा विदेशीको लागत कम हुन गएर यो देश लगानीकर्ताको लागी आकर्षक बन्न पुग्छ । 

अर्को कुरा शिक्षामा व्यापक स्वतन्त्रता हुनु पर्यो ताकी धेरैभन्दा धेरै नीजी कलेजहरूले यो क्षेत्रमा बढिभन्दा बढी दक्ष विद्यार्थी वा जनशक्ति उत्पादन गर्न सकुन् ताकी पछि चाहिएको बेलामा तिनको अभाव नहोस् । व्यापक रूपमा अर्थतन्त्र चलायमान भएको अवस्थामा अहिले नेपालमा भएका आइटि विद्यार्थी, जनशक्ति, कम्पनी इत्यादी एकदमै अपर्याप्त छन् । 

सरकारले अर्थतन्त्रमा सकेसम्म हस्तक्षेप गर्नु भएन । नागरिक र यहाँ काम वा लगानी गर्न आउने विदेशीको जिउधनको रक्षाको पक्कापक्की सरकारले गर्न सक्नुपर्यो । छोटकरीमा भन्नुपर्दा गरिखाने वातावरण बनाउनुपर्यो ।

यि कामहरू भएको खण्डमा नेपालले पनि सफ्टवेयर विकासमा विकसित राष्ट्रहरूले जस्तै वा तिनीहरूको भन्दा राम्रो काम गर्न सक्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.